
फोटो : फाइल फोटो
हाम्रो शरीरमा दुईथरी अंगहरु हुन्छन् । एकथरी अंगहरु नभएपनि मान्छे बाँच्छ । आँखा नदेख्ने, कान नसुन्ने, हात–खुट्टा नभएको मान्छे पनि बाँच्न सक्छ । तर मृगौला, मुटु, कलेजो नभएको मान्छे बाँच्न सक्दैन, मृत्यु भइहाल्छ । मृगौलाको मुख्य काम हामीले खाएका खानेकुराबाट शरीरभित्र निस्केका फोहोर पदार्थलाई पिसाबमा फँक्ने हो । मृगौलाले फोहोर कुराहरु पिसाब मार्फत शरीर बाहिर पठाउने भएकाले मानिसको शरीर स्वस्थ भइराख्छ ।मानिसको मृगौला जन्मेदेखि नै बलियो र कमसल हुन सक्छ । पर्याप्त पौष्टिक आहार खाएका आमाले जन्माएको बच्चाको मृगौला पौष्टिक आहार खान नपाएका महिलाले जन्माएको बच्चाको भन्दा बलियो हुन्छ । तर कसको मृगौला कति बलियो छ भन्ने थाहा हुँदैन । बिग्रेर काम गर्न नसक्ने भएपछि मात्र थाहा हुन्छ । त्यसैले सबै जनाले मृगौलालाई बिग्रन नदिन उत्तिकै सचेत हुनुपर्छ । आहार, विहार, बानी ब्यवहार अनुशासित छ भने मृगौलाको आयु बढाउन सकिन्छ ।
मृगौला जोगाउने ६ टिप्स
१ दिनमा कम्तीमा २ देखि ३ लिटर पानी पिउने । ताकी २ देखि ३ लिटर पिसाब होस् । बढी गर्मी हुने, पसिना आइरहने ठाउँमा बस्नेले अझै धेरै पिउनुपर्छ । पसिनाबाट बाहिर निस्कने पानीको समेत हिसाब गरेर धेरै पानी पिउनुपर्छ ।
२. शरीरलाई सक्रिय राख्ने । हिँडडुल, मर्निङ वाक, इभिनिङ वाक, योग प्रणायाम जे गरेपनि हुन्छ । खेल खेलेपनि हुन्छ । खाना खाएपछि घरमा नै टहलिएपनि हुन्छ । जसरी पनि शरीरलाई सक्रिय राख्नुपर्यो ।
३. स्वस्थ खानेकुरा खाने । घरको खानाजस्तो मिठो र स्वस्थ कतै पाइदैन । तर वाध्यता वा रहरले बाहिर खान्छौं । घरको खानामात्र खाने हो भने धेरै रोगबाट बच्न सकिन्छ । घरमा पनि मसला र पिरो धेरै हालेर खानु हुँदैन । धेरै मासु पनि शरीरले पचाउन सक्दैन । दाल, भात, तरकारी, फलफूल, दूध दही खानुपर्छ ।
४. समयमा सुत्ने समयमा उठ्ने । राती ढिलोसम्म नसुत्ने र विहानको राम्रो समयमा सुत्ने गर्नु हुँदैन । ६ देखि ८ घण्टा राम्रोसँग निदाउन सकियो भने शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।
५. जथाभावी औषधी नखाने । टाउको दुख्यो भनेर निम्स, घुँडा दुख्यो भनेर ब्रुफिन र कम्मर दुख्यो भनेर भुबेरान खाइदिने चलन छ । पेनकिलर धेरै खायो भने यसले मृगौलालाई थप्पड हानिरहेको हुन्छ । कुनै रोग छ भने त औषधी खाएर ठीक पार्नुप¥यो तर जथाभावी पेनकिलर खानु भएन ।
६. सुर्तीजन्य पदार्थ र धुमपान त सेवन गर्न हुँदै हुँदैन । यसले क्यान्सर मात्र बनाउने होइन, मृगौला रोग बढाउन पनि मद्दत गर्छ । चुरोट खाने मान्छेहरुमा रक्तचाप र मधुमेश बढी हुन्छ र यस्ता मानिसले चुरोट खाइरह्यो भने मृगौला पनि बिग्रन्छ ।
नेपालका करिब ३ करोड जनसंख्यामध्ये १० प्रतिशत अर्थात करिब ३० लाख जनाको मृगौलामा कुनै न कुनै समस्या छ । ३० लाखको १० प्रतिशत अर्थात ३ लाखमा यो समस्या अझै ठूलो छ । ३ लाखको १० प्रतिशत अर्थात ३० हजार जनाको मृगौला बिग्रेको छ । त्यसको पनि १० प्रतिशत अर्थात ३ हजार जनाको मृगौला त अन्तिम अवस्थामा छ ।
हाम्रोजति नै जनसंख्या भएको देश मलेसियामा ३५ हजार जनाले नियमित डायलासिस गर्छन् । हाम्रो देशमा १५ सयले जनाले गर्दा गर्दा श्रोत साधन पुर्याउन नै समस्या हुन थालिसक्यो । २०/२५ हजार जनाले गर्नुपर्यो भने त हाम्रो अर्थतन्त्रले धान्न सक्दैन । त्यसैले मृगौला जोगाउने सचेतना जगाउन मृगौला दिवस मनाउन थालिएको हो । मृगौला रोगमा गरिब मुलुकले न त उपचार दिन सक्छ न जनताले धान्न नै सक्छन् । त्यसैले जतन गर्यो भने उपचार नै गर्नुपरेन ।
बिग्रेपछि मात्रै थाहा पाउनुभन्दा स्वस्थ हुँदैमा आफ्नो मृगौला कत्तिको स्वस्थ छ भनेर थाहा पाउनुपर्छ । त्यसैले वर्षको एक पटक जाँच गराउनुपर्छ । रगतमा क्रियाटिननको मात्रा छ कि छैन र पिसाबमा प्रोटिनको मात्रा छ कि छैन भनेर जाँच गराउनुपर्छ । रगतमा क्रियाटिनन र पिसाबमा प्रोटिन देखिएमा मृगौलामा समस्या देखियो भन्ने थाहा हुन्छ ।
मृगौला रोग सबैलाई लाग्दैन । उच्च रक्तचाप भएका, मधुमेह भएका र धेरै औषधी खाइरहनेले जाँच गराउनुपर्छ । त्यसैगरी धेरै मोटो मानिस, परिवारका सदस्यमा मृगौला रोग देखिएका र ५० वर्ष नाघेकाले पनि वर्षमा एक पटक मृगौला जाँच गराउनुपर्छ ।
स्वस्थ ब्यक्ति ढुक्क भएर बसुन्, तर आफुलाई निरोगी छु भन्ठान्ने रोगी ब्यक्तिहरु जाँच गर्न आउन् भन्ने हाम्रो उद्देश्य हो । समयमा मृगौला खराब भएको थाहा पाएमा ठीक पार्न सकिन्छ वा त्यसलाई रोकथाम गर्न सकिन्छ । समस्या बढ्यो भने उपचार गर्न सकिदैन । ८० प्रतिशत मृगौला बिग्रेपछि कोही अस्पताल आयो भने ठीक पार्न सकिदैन । त्यस्ता मानिसहरुको बाँचुन्जेल डायलासिस गर्नुपर्यो कि प्रत्यारोपण गर्नुपर्यो । प्रत्यारोपण गर्न आफन्तले मृगौला दान गर्नुपर्यो र धेरै रकम पनि चाहियो । मृगौला बचाउनका लागि सँधै औषधी खाइरहनुपर्यो ।
मृगौला रोग उपचारका लागि सरकारले केही सहुलियत दिएको पनि छ । ७५ माथिका, लुप्त जनजाति, हेपाटाइटिस बी र सी भएका तथा विपन्न परिवारकालाई जिल्ला स्वास्थ्य कार्यालयको सिफारिसमा सरकारले निशुल्क डायलासिस गराउँछ । नेपालमा डायलासिस, प्रत्यारोपण लगायत सबै उपचार गरिन्छ । तर आम नेपालीले सहज रुपमा पाउन भने सक्दैैनन् । विरामीको घर पायकमा सेवा पुर्याउन डायलासिस सेवालाई काठमाडौं बाहिर विस्तारको तयारी भइरहेको छ र प्रत्यारोपणलाई सहज बनाउन पनि कोशिस भइरहेको छ ।
0 comments:
Post a Comment